काठमाण्डौ : प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ताका लागि दिल्लीमा रहेको हैदराबाद हाउस पुगेको छ । भारतको औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसमा स्वागत गरेको छ ।
भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भनिएको छ । भेटवार्तामा ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।
भेटकै क्रममा जनकपुर– जयनगर खण्डमा चल्ने रेलको उद्घाटन पनि हुँदैछ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लागीएको हो । आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ । एकपटमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ ।
रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको कम्पनीले छ । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएकोमा गएको फागुन १ गतेदेखि ‘ड्राई रन’ अर्थात यात्रु नराखी चलाउन थालिएको थियो ।
तपाइँको प्रतिक्रीया