२०८२ असार ७ शनिवार

राशिफल

आजदेखि नियमित रुपमा नेपालमा रेल सेवा सुचारु

काठमाडौं :  धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन भएको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ ।

उद्घाटनको बेला जयनगर रेल्वे स्टेशनमा नेपाल र भारतका विद्यार्थीले दुवै देशको झण्डासहित उभिएका थिए । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले भने,‘प्रधानमन्त्रीद्वयले झण्डा हल्लाएपछि जयनगरबाट जनकपुरका लागि रेल गुडेको थियो ।’

आज उद्घाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् भने उद्घाटन पश्चात् जनकपुरधामको कुर्थास्टेशनदेखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्नेछ ।

शनिवारदेखि सुरु भएको कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि रु ९० र वातावरण अनुकूलित ९एसि० सिट सुविधातर्फ रु ४५० टिकट कायम गरिएको छ ।

जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसिमा ३७० कायम गरिएको छ । लामो समय पश्चात् रेल्वे चलेपछि स्थानीयवासीमा छुट्टै किसिमको खुसीयाली छाएको छ । आज विहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भीडभाड देखिएको छ ।