काठमाडौं : नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताएका छन्।
गृहजिल्ला तनहुँको शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी समुद्घाटन कार्यक्रममा उनले घोषणपत्रअनुसार काम नगर्ने दललाई भोट दिन नहुृने बताएका छन् ।
‘घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिनुहोला,’ पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन।’
काम नगरी जित्ने परिस्थिति बने समृद्धि आर्जन गर्न नसकिने नेता पौडेलले बताए। उनले काँग्रेसले आशन्न निर्वाचनमा स्पष्ट योजना प्रस्तुत गर्ने पनि बताए।
‘नेपाली काँग्रेसले यो चुनावमा स्पष्ट योजना प्रस्तुत गर्नेछ। ती योजना हाम्रा प्रतिवद्धता हुन्,’ नेता पौडेलले भने, ‘हामी हाम्रा प्रतिवद्धता पूरा गर्नेछौँ। पूरा गर्न नसकिने प्रतिवद्धता हामी गर्ने छैनौँ।’
संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा हुन बाँकी रहेको भन्दै उनले नैसर्गिक अधिकारका रुपमा व्याख्या गरिएका विषयहरुतर्फ केन्द्रित भएर दलहरुले कार्यक्रम बनाउन आवश्यक रहेको पनि बताए।
तपाइँको प्रतिक्रीया