काठमाडौं : भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्त रूपमा डिजिटल पेमेन्ट सिस्टम ‘रुपे’ उद्घाटन गरे ।
दिल्लीस्थित हैदरावाद हाउसमा पत्रकार सम्मेलनमार्फत औपचारिक उद्घाटन गरिएको सो डिजिटल पेमेन्ट सिस्टम नेपालमा समेत चल्ने बताइएको छ ।
डिजिटल युगमा आन्तरिकमात्र नभएर अन्तरदेशीय भुक्तानीलाई समेत सरल र सहज बनाउने उद्देश्यसहित दुई देशमा जहाँ पनि चल्ने गरी रुपे शुरुवात गरिएको दुवै देशका अधिकारीहरूले दाबी गरेका छन् । तर, भारतीय श्रम बजारमा समेत उल्लेख्य संख्यामा रहेका नेपालका आम नागरिकलाई भने ‘रुपे’बारे खासै जानकारी छैन ।
नेशनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीआइसी)ले चल्तीमा ल्याएको ‘रुपे’ भिसा कार्ड तथा मास्टर्स कार्डजस्तै हो, जुन भारतीय रिजर्व बैंकको आफ्नै डिजिटल पेमेन्ट कार्ड हो ।
यो कार्ड अब भारतमा मात्र नभएर नेपालमा समेत चलाउन लागिएको हो । रुपे कार्ड बोक्ने जो–कोही भारतीयले नेपालको बैंकबाट र नेपालीले भारतको बैंकबाट सजिलै पैसा झिक्न सकिने बताइएको छ ।
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चाहिँ यस्तो अन्तरदेशीय भुक्तानी कार्ड ‘रुपे’ चलाउन त्यति सहज नभएको बताएको छ । दुई देशबीच सहज रूपमा चलाउने भनिए पनि त्यसका लागि नेटवर्किङ्ग र निश्चित सीमाका कारण समस्या रहेको यहाँको केन्द्रीय बैंकका अधिकारीहरूले बताए ।
तपाइँको प्रतिक्रीया