काठमाडौं : सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोस्ने तयारी गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बूढीगण्डकी आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपबाट खोस्ने र स्वदेशी लगानीमै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार करिब २ साताअघि नै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले बूढीगण्डकी स्वदेशी लगानीकै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएकी थिइन ।
‘मन्त्रालयबाट चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी यसअघि भएको निर्णयअनुसार काम हुन नसकेको भन्दै अब स्वदेशी लगानीमा अघि बढाउने गरी प्रस्ताव आएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो ।
चिनियाँ विदेशीमन्त्री वाङ यीको नेपाल भ्रमणअघि नै यो प्रस्ताव मन्त्रिपरिषदमा पुगेको थियो । त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा पनि जानुपर्ने भएकाले यसबारे मन्त्रिपरिषदमा छलफल हुन नपाएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिएका हुन् ।
गेजुवाले समय सीमाभित्रै यो विषयलाई टुंगोमा पुर्याउन चासो नदिएपछि मन्त्रालयले आयोजनामा चिनियाँ कम्पनीलाई नकुर्ने निष्कर्ष निकालेको हो । ऊर्जामन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा एउटा जलाशययुक्त आयोजना बनाउने योजना अनुसार बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने घोषणा नै गरेकी छिन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७५ मा मन्त्रिपरिषदले इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्सिङ (ईपीसीएफ) मोडलमा बूढीगण्डकी बनाउन गेजुवालाई दिने मोडालिटी बनाउन ऊर्जा मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
ईपीसीएफ मोडालिटीअनुसार गेजुवाले जुटाउने सबै लगानी आयोजना निर्माणपछि नेपाल सरकारले निश्चित वर्ष तोकेर किस्ताबन्दीमा सावा र ब्याज तिर्नुपर्ने हुनसक्थ्यो । यस्तो ऋणको लगानीकर्ता र ब्याजदरका विषयमा दुई पक्षबीच सुरुमै सहमति जुट्नुपर्थ्यो ।
त्यसैले अब मन्त्रालयले नयाँ ढंगबाट अघि बढ्न प्राविधिक गृहकार्य पनि अघि बढाएको छ । अहिले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनीमार्फत आयोजनाको लागत अनुमान अद्यावधिक गरिरहेको छ । २०७३ मै बूढीगण्डकीको करिब ३ खर्ब ११ अर्ब रूपैयाँ ९२ हजार ५९३ मिलियन अमेरिकी डलर० मा आयोजना बनाउन सकिने गरी लागत अनुमान तयार भएको थियो ।
तपाइँको प्रतिक्रीया