काठमाडौं : कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् ।
कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोलामा पक्की पुल निर्माण हुने भएका हुन् ।
त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हुम्ला सडक डिभिजन कार्यालयले जानकारी दिएको हो । उक्त कार्यालयका इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिएअनुसार पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको छ । उनका अनुसार ठेक्का प्रक्रिया अगाडि बढिसकेकाले यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्नेछ ।
यसैगरि कर्णाली करिडोरअन्तर्गत कालीकोट सडक खण्ड फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको हो । सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम सुरु गरिसकेको उक्त कार्यालयले जानकारी दिएका हुन्।
उक्त कार्यलयका एन्जिनियर यादबका अनुसार कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको हो । अहिले त्यहाँको सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरु भएको छ ।
अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुने उनले बताए । करिडोरअन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको समेत उनले बताएका हुन् ।
तपाइँको प्रतिक्रीया