काठमाण्डौ : वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता जाहेर गरेका छन् ।
स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज मङ्गलवार छलफल गरेको थियो ।
छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
चुनाव आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानुन र संविधानअनुसार बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै त्यही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए ।
बैठकको सुरुमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरू असन्तुष्टिकै बीच हस्ताक्षर गर्न तयार भएका थिए ।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध रहेको बताए ।
आचारसंहिता अक्षरशः पालना गरिने उनीहरुको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न तयार रहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरूले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरूले गुनासो राखेको बताएका हुन् ।
चुनावको समयमा गाडी, मोटरसाइकल र्याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उनले बताए । उनका अनुसार दलहरूका बीचमा चुनावी गठबन्धन हुनु सिद्धान्त विपरीत र मतदाताको किनबेच जस्तो भएको टिप्पणी समेत गरे ।
नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरूलाई हेपाहा प्रवृत्ति देखाएको बताएका हुन् । आयोगले गर्ने छलफलहरूमा साना दलहरूलाई सहभागी नगराउने गरेको उनको गुनासो छ ।
निर्वाचन आयोगले स्थानीय तह चुनावलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरूलाई प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह समेत गरेका हुन् ।
तपाइँको प्रतिक्रीया