२०८२ जेठ ३२ शनिवार

राशिफल

लागू औषध नेपालमा गम्भीर समस्याका रुपमा बढ्यो : गृह मन्त्रालय

काठामाडौं : गृह मन्त्रालयले लागू औषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आज बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताएका हुन् ।

लागू औषधका कारण विभिन्न अपराधिक घटनाहरु भइरहेको र त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहेको पनि बताए ।
यस्तै गृहमन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागू औषधका प्रयोगकर्ता रहेको बताए ।

उनले उक्त प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको बताए । नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दी मध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत कारागारका कैदीबन्दीहरु लागू औषधकै मुद्धामा रहेको छन ।

उपसचिव उपाध्यायले नेपालमा लागू औषध कारोबारमा २०७७/०७८ मा ४ हजार ६२६ जना पक्राउ परेकाहरुमा ३ हजार १३ जनालाई मुद्धा चलाइएको र त्यसमध्ये १४७ जना विदेशी नागरिकहरु रहेको बताए ।

सो अवसरमा लागु औषध कारोबार हुने मुख्य ५ जिल्लामा काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा रहेको पनि जानकारी गराइएको थियो ।