काठमाडौं : उदयपुरको बेलका नगरपालिकाकी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज बुधवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो ।
प्रहरीले हत्यामा संलग्न बेलका ३ बस्ने १९ वर्षीय विनोद ढकाललाई सार्वजनिक गरेको हो । यस्तै घटनामा एक नाबालिकको संलग्नता देखिए पनि उनलाई सार्वजनिक गरेको छैन । भारतको सिक्किम राज्य बियुङ घर भएका विनोद गएको एक वर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका थिए ।
उनीहरूले हिजो मङ्गलवार बिहान ट्युशन पढ्न जाने निहुँमा बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी ) सुवासचन्द्र बोहोराले बताए । ‘अभियुक्तहरूले किशोरीलाई बिहानै बोलाइ हत्या गरेका अनुसन्धानबाट खुलेको छ’, एसपी बोहोराले भने , ‘बयानमा समेत उनीहरूले यो कुरा स्वीकार गरेका छन् ।’
हत्याको मुख्य योजनाकार नाबालिक रहेको बताइएको छ । मृतक बालिकालाई पछाडिबाट रक्सीको खाली बोतलले टाउकोमा प्रहार गरेको र अरूले थाहा पाउँछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरूले दिएका छन् । बालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
तपाइँको प्रतिक्रीया