काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको नेपाली कांग्रेसले तीन वटा विकल्प अघि सारेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भए पनि सुदूरपश्चिम प्रदेशमा प्राविधिक रुपले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ ।त्यसैले उसले गठबन्धनको बैठकमा ३ वटा विकल्प अघि सारेको छ ।
पहिलो, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्छ । दोस्रो, नेतृत्व नपाएमा स्थानीय तहको चुनावअघि नै सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ । र तेस्रो, कांग्रेस गठबन्धनबाट अलग भएर पनि जान्छ । कांग्रेसले गठबन्धन नै छाड्नेसम्मको विकल्प दिएपछि नेताहरु गम्भीर भएर सघन छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिमका प्रदेशसभा सदस्य भरतबहादुर खड्का आफूहरुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने, नभए सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने र त्यति पनि नभएमा गठबन्धनबाट अलग भएको घोषणा गर्ने विकल्पमा छलफल अघि बढेको बताउँछन् । ‘पहिलो दुई वटा विकल्पमा गठबन्धन सहमत नभए पत्रकार सम्मेलन मार्फत कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गठबन्धनमा नरहेको घोषणा गर्ने खडकाले बताए ।
प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउने विषयमा सुदूरपश्चिम र संघीय राजधानी काठमाडौंमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलकै लागि कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावल काठमाडौंमा छन् ।
छलफलमा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई नभएर ठूलो दलको हैसियतले आफूले गर्न पाउनुपर्ने माग राखेको छ । नेतृत्व समाजवादीले गरेमा आफूले कम्तीमा तीन वटा मन्त्रालय पाउनुपर्ने माग कांग्रेसको छ ।
तपाइँको प्रतिक्रीया