२०८२ जेठ ३१ शुक्रबार

राशिफल

भरतपुर महानगरपालिका नपाए विद्रोह गर्ने कांग्रेसको चेतावनी

काठमाडौं : नेपाली काँग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा . शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका काँग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर तत्काल उनीहरु चितवन फर्किएका हुन् ।

नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीत नारायण श्रेष्ठसहितको टोली आएको थियो । भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका काँग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले जानकारी दिए ।

‘काँग्रेस ठूलो दल हो भरतपुरमा । फेरि, आलोपालो गर्ने भन्ने पनि थियो पहिलो । त्यही भएर हामीले दुई तर्कलाई अघि सारेर काँग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भनेका हौँ’, कोइरालाले भने । भरतपुर महानगरपालिका पाउनुपर्ने ‘बटमलाइन’ २० चैतमा बसेको काँग्रेस चितवनको बैठकले निर्णय गरेको थियो ।

हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी काँग्रेसी नेताहरूले दिएका छन ।