काठमाडौं : विराटनगरमा चिकित्सक मृत फेला परेको घटना थप रहस्यमय बन्दै गएको छ ।
नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक २६ वर्षीय विजय यादवको मृत्युको कारण अहिलेसम्म यकिन हुन सकेको छैन । प्रहरीको एक साता लामो अनुसन्धानले उनको मृत्युको कारण पहिल्याउन नसक्दा घटना थप रहस्यमय बन्न पुगेको छ ।
पोस्टमार्टम रिपोर्टका बारेमा अध्ययन गरिरहेको प्रहरी अब भिसेरा परीक्षण रिपोर्टको पर्खाइमा छ । भिसेरा रिपोर्टले घटनाका बारेमा थप प्रष्ट पार्ने प्रहरीको अपेक्षा छ ।
प्रहरीले डा. विजयसँगै होटलमा राति अबेरसम्म खानपिन गर्ने २ जनासहित ८ जनालाई नियन्त्रणमा लिएर यस घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ
अहिलेसम्म अपराधिको खोज तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्य र आफन्तले उनको हत्या भएको दाबी गर्दै आएका छन् । अनुसन्धानमा दबाब दिन हिरा यादवको संयोजकत्वमा डा. विजय न्याय संघर्ष समिति गठन गरिएको छ ।
समितिले घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै शनिबार विराटनगरमा प्रदर्शनसमेत भएको थियो । उच्चस्तरीय छानबिन समिति बनाएर घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्दै समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको ध्यानाकर्षण समेत गराएको छ ।
डा. विजय विराटनगर–४ स्थित डेरा बसेकै घरको कम्पाउण्डमा अघिल्लो शनिबार मृत फेला परेका हुन् । उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । अहिलेसम्मको अनुसन्धानबाट हत्यासँग जोडिएको कुनै प्रमाण फेला पर्न सकेन प्रहरीले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रीया