२०८२ जेठ २१ मङ्गलबार

राशिफल

चैते बाढीको असर थुलुङ दुधकोशीको मोटरेबल पुलमा, “कम्पनी भन्छ अब विकल्प खोज्छौं”

रमन वन/काठमाण्डौं : सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ र २ लाई जोड्ने दुधकोशी नदिमा निर्माणाधिन मोटरेबल पुलको काम १ वर्ष पछि धकेलिने भएको छ ।

गत वैशाख २५ गते वर्षातसँगै दुधकोशीमा आएको बाढीले पुल निर्माण सामाग्रीमा क्षति पुगेपछि आगामी पुषबाट निर्माण सुरु गरिने खाम्पाचे शेर्पा निर्माण सेवा प्रा.लि.का म्यानेजिङ डाइरेक्टर आङ दावा शेर्पाले जानकारी दिए ।

उनका अनुसार बाढिले पानी तान्ने मोटर, गिटी, बालुवा, फर्मा, पाइप, मिक्चर लगायतका सामाग्री बगाएको छ । साथै पिलर राख्नको लागि बनाइएको फाउण्डेसनमा समेत काम नलाग्ने गरी क्षति पुगेको शेर्पाले एनडिसीखबरसँग कुरा गर्दै बताए ।

पुल निर्माणका लागि यातायात निर्देशनालय बिराटनगरले १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०७६ सालमा सिलान्यास भएको उक्त पुलको काम हालसम्म ३५ प्रतिशत सकिएको भएपनि अब सुरुवातदेखि गर्नुपर्ने भएको छ ।

मोटरेबल पुल निर्माण कार्यमा बाढिले क्षति पुर्याएको यो दोस्रो पटक हो । बाढी निर्माण सामाग्री बगाउँदा खाम्पाचे शेर्पा निर्माण सेवालाई साँढे ५ करोड घाटा लागेको उनले बताए ।

दुधकोशी नदिमा पुल निर्माण नहुँदा थलुङ दुधकोशी वडा नम्बर ४, ५ र ९ का नागरिकहरुलाई सदरमुकाम तथा गाउँपालिका केन्द्र पुग्न समस्या हुने गरको छ । यस्तै सामान ढुवानी एवम् बिरामी हुँदा अस्पताल जानको लागि समेत हैरानी बेहोर्नु परको छ ।

यसरी पटक,पटक बाढीले निर्माण सामाग्रीमा क्षति पुर्याउँदा नागरिकहरुले भने निर्माण कम्पनीको लापार्बाहीको कारण बाढीले बगाएको आरोप लगाएका छन् ।
यता निर्माण कम्पनीको म्यानेजिङ डाइरेक्टर शेर्पाले भने । “हामीले समयमै काम गरेको हो तर अचानक बैशाखमा आएको बाढीले सामाग्री बगायो, अब बर्खायाम सुरु हुने र पानीको वहाव बढ्ने कारण काम गर्न सकिदैन, आगामी पुषबाट हामी यसको विकल्प खोजेर कामलाई अगाडी बढाउँछौं”
साथै अब यो घाटा लागेको साँढे ५ करोड कहाँबाट ल्याउँनुहुन्छ भन्ने हामीले सोधेको प्रश्नमा उनले भने, “एभरेष्ट ईन्स्योरेन्समा हामीले करिब १८ लाखको ईन्स्योरेन्स गरेका छौं अब त्यही बापतको कति दिन्छ बिमा कम्पनीले, त्यो पैसामा हामीले थप गरेर काम गर्छौं” ९३ मिटर लम्बाई र साँढे ७ मिटर चौडाइ रहेको पुलको १५ करोड ८० लाख लागत रहेको छ ।

२०७६ कात्तिक २७ गते यातायात पुर्वाधार निर्देशनालय र निर्माण कम्पनी खाम्पाचे शेर्पाबीच सम्झौता गरिएको थियो । पुलको असमयअवधि यही बैशाखभित्र सकिदै छ ।