२०८२ असार ३ मङ्गलबार

राशिफल

अझै पनि संघीयता उल्टाउन चाहानेहरुको संख्या अधिक छ :  प्रचण्ड

काठमाडौं :  पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन् ।

आज मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने महत्वका साथ उठाउनु पर्ने उनले बताए ।

अध्यक्ष दाहालले अहिलेको २१ औँ शताब्दीको विश्व, ग्लोबलाइज पनि छ, डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले भने, ‘एउटा प्रवृति छ, संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर ठान्दैन । त्यो प्रवृति अहिले पनि तपाई हामीले देखिरहेका छौँ ।

कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन् । यस्तो परिस्थितिमा हामीले संविधानले र परिवर्तनले र आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभुत गर्ने गरी विकासमा हामीले गति कसरी लिने, फड्को कसरी मार्ने भन्ने कुरा असाध्यै महत्वपूर्ण छ नेपालको लागि ।’

अबको समयमा विकासका लागि गम्भिर भएर नलाग्ने हो भने हरेक कुरा विग्रेर जाने समेत प्रचण्डले बताएका छन् ।