२०८२ असार ३ मङ्गलबार

राशिफल

क्यानडेली राजदूत र शिक्षामन्त्री पौडेलबीच भेटवार्ता

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरेको मन्त्री पौडेलको सचिवालले जानकारी दिएको हो ।

त्यसक्रममा मन्त्री पौडेलले उच्च शिक्षा तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पु¥याउन आग्रह गरे ।

‘वर्षेनी २ देखि ३ हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन् मन्त्री पौडेलले
बताए ।

उनका अनुसार ‘विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालको लागि आवश्यक पर्ने उच्च दक्षता भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्न सक्छ ।

नेपालले विद्यालय शिक्षा क्षेत्रमा रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको भन्दै उनले यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गरे ।