काठमाडौं : नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकमा सरकारका विवादित निर्णयमा नेताहरुले प्रश्न उठाएका छन् ।
गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको निलम्बन,नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्ति तथा बिग्रँदो अर्थतन्त्रका विषयमा नेताहरूले धारणा राखेका थिए ।
टेलिकमको प्रबन्ध निर्देशक विवादित व्यक्ति भएको प्रति महामन्त्री विश्वप्रकाश शर्माले विचार राखेका थिए । ‘ओली सरकारका बेला उतै पनि मिलनसार, अहिले यतै मिलनसार, व्यक्ति योग्य र प्रोफेसनल भएर यस्तो भएको हो कि महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले गलत प्रश्न उठाएको शर्माले प्रश्न राखे ।
शर्माको प्रश्नलाई तत्कालै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जवाफ फर्काएका थिए । खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छानिएको भन्दै कार्कीले बचाउ गरेका थिए ।
स्थानीय तहको निर्वाचनको लागि घोषणापत्रमा सुझाव संकलनका लागि डाकिएको बैठकमा मुख्यत: घोषणापत्रमै छलफल भएको सहमहामन्त्री भीष्म आङदेम्बेले जानकारी दिए ।
अर्थतन्त्रमा देखिएको समस्याको निराकरणका लागि आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउने विचार राखेको आङदेम्बेले बताए ।
अर्थमन्त्रीको कार्यक्षमतालाई लिएर केही नेताले असन्तुष्टि व्यक्त गरेका थिए । ‘अर्थतन्त्रमा चुनौती बढेका बेला वृहत्तर समन्वय जरुरी थियो ।
अर्थमन्त्री जनार्दन शर्माले खस्कँदो अर्थतन्त्रप्रति उचित पहल लिन नसकेकोमा बैठकमा नेताहरुले चिन्ता व्यक्त गरेको सहमहामन्त्री आङदेम्बेले जानकारी दिए । ‘अर्थमन्त्रीको पर्फमेन्स ठीक नभएको र उनीहरुका विषयमा अरु केही कुरा उठेका छन्,’ आङदेम्बेले भने ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले तालमेलका विषयमा भने खासै नबोलेको उनले बताए । महामन्त्री शर्माले भरतपुरमा अघिल्लोपटक कांग्रेसले सघाएकाले यसपटक माओवादीले सहयोग गर्नुपर्ने मत राखेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट फुटेर कांग्रेस बलियो नभएको सांच नराख्न नेताहरुलाई आग्रह गरेका थिए । ‘फुटिहालेका छन् । जितिहाल्छौं भन्ने कुरा बेकारका कुरा हो,’ प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको बोली उधृत गर्दै आङदेम्बेले भने,’गठबन्धनकै कारणले हामीले यो अवसर पाएका हौं ।
महामन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रतामै असर पुग्ने गरि निर्वाचन आचार संहिताको प्रावधान रहेको प्रति ध्यानाकर्षण गराएका थिए ।
घोषणपत्र समावेश गरिने मूल विषयमा नेताहरुले विचार राखेको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए । कतिपय समानुपातिक सूचीमा भएका केही नेताहरु उम्मेदवार बन्न इच्छुक देखिएकाले बन्द सूचीबाट नाम हटाउने प्रक्रिया सुरु गरिने उनले बताए ।
गठबन्धनका दलहरु बीच तालमेलका लागि भएको सहमतिका विषयमा पनि सामान्य छलफल भएको सहमहामन्त्री जीवन परियारले बताए ।
तपाइँको प्रतिक्रीया