काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले कोरोना महामारीका कारण आक्रान्त भएको नेपाली जन जीवनमा नयाँ वर्ष २०७९ ले आशाका नयाँ किरण सञ्चार गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै कार्कीले न्यायिक क्षेत्रमा क्रियाशील न्यायाधीश, कानुन व्यवसायी एवम् न्यायपालिकामा कार्यरत कर्मचारी एवम् सम्बन्धित सबैको हर्ष एवम् उल्लासको वर्ष बन्न सकोस् भन्ने कामना गरेका हुन् ।
उनले ‘न्यायिक मूल्य मान्यतामाथि भएका प्रहारहरूलाई चिर्दै संविधान, कानुन र न्यायका मान्य सिद्धान्तका आधारमा स्वच्छ एवम् निष्पक्ष न्याय सम्पादन गर्ने कार्यमा न्यायपालिका कटिबद्ध रहेको समेत बताए । उनले जनताको आस्था एवम् विश्वासको धरोहरको रूपमा रहिरहन न्यायपालिकाले जनतालाई गुणस्तरीय न्याय प्रवाह गर्ने कार्यमा दत्तचित्त भएर लागि परेको बताएका छन् ।
उनले ढिलो न्याय दिनु न्याय दिन इन्कार गर्नु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै न्यायिक सेवा प्रवाहलाई उचित समयावधि भित्र सम्पन्न गर्नको लागि मुद्दा व्यवस्थापन पद्धतिमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै न्यायिक पद्धति सुधारका कार्यलाई अगाडि बढाइएको बताएका छन् ।
तपाइँको प्रतिक्रीया