२०८२ असार २ सोमबार

राशिफल

आज जुडशीतल पर्व मिथिलामा मनाइँदै

काठमाडौं :  सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ ।

नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने परम्परागत प्रचलन रहेको छ ।

‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाने चलनको परम्परा विगतदेखि चलिआएको हो । आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने पनि गरिन्छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी)पकाएर खाने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् ।

दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ । जुडशितल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् ।