२०८२ असार १ आइतबार

राशिफल

बाइसधारामा बिहानैदेखि भक्तजनहरुको घुइँचो

काठमाण्डौ : आज चैतशुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ ।

बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा नुहाएर नागार्जुन पहाड चढ्न जाने चलन छ ।

त्यस्तै, काठमाण्डौको हाँडी गाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाँडीगाउँमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ ।

किंवदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीक अनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा हुने गर्दछ । गहना खोज्ने क्रममा टुँडालदेवीको खटलाई सिन्दुर जात्रा गरेर पोखरीमा डुबाइन्छ ।

त्यस्तै, आज नयाँबजारमा म्हय्पि अजिमाको पनि जात्रा हुँदैछ । साँखुमा बज्रयोगिनी देवीको जात्रा हुँदैछ । आज बज्रयोगिनी देवीलाई मन्दिरबाट निकालेर सिहिणी, ब्राधिनीसहित जात्रा गरिनेछ। यता, ललितपुरको सुनाकोठीमा भएको बालकुमारी जात्राको क्रममा आज बेलुकी लिङ्गो ढालिँदैछ ।

महादेवको प्रतीकको रुपमा ठड्याएको लिङ्गोलाई आज ढालिने चलन छ । त्यस्तै आज बेलुकी बालकुमारी देवीलाई मन्दिरमा प्रतिस्थापन गरिँदैछ । हिजो बालकुमारी देवीलाई खटमा राखेर सुनाकोठीको विभिन्न ठाउँमा सिन्दुर जात्रा गरिएको हो ।