२०८२ असार १ आइतबार

राशिफल

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं :  स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । आज शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ ।

सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि काँग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो ।

काँग्रेसको विधानले ११ उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिएको छ । ६ वटा महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार भने केन्द्रीय संसदीय समितिले चयन गर्ने छ ।

कार्यसम्पादन समिति बैठकबाट आफूले लिने र छोड्ने महानगर र उपमहानगरबारे संस्थागत निर्णय गरी गठबन्धन दलसँगको छलफलमा बस्ने काँग्रेसको रणनीति छ ।