२०८२ असार १ आइतबार

राशिफल

निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने विप्लवलाई सरकारको आश्वासन

काठमाडौं :  सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गरेर चुनावमा जाने वातावरण बनाउने बताएको हो ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा,सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला लगायत नेताहरुले सत्तापक्षका नेताहरुलाई बन्दी रिहा र मुद्दा फिर्ता लिन आग्रह गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा,गृह मन्त्री बालकृष्ण खाँडसहित सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुलाई भेटेर दबाब दिइरहेका छन् ।

प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले स्थानीय निर्वाचन अघि बन्दी रिहा र मुद्दा फिर्ता लिने आश्वासन दिने गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले बताए।

स्थानीय निर्वाचनका विषयमा समेत गत शुक्रबार नेकपा सचिवालय बैठकमा छलफल भएको छ । बैठकमा विप्लवले बन्दी रिहा र मुद्दा फिर्ताका विषयमा भईरहेको पहलका विषयमा बैठकलाई जानकारी गराएका थिए ।