२०८२ जेठ ३२ शनिवार

राशिफल

विदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्न परिसंघले दियो अर्थमन्त्रीलाई सुझाव

काठमाडौं  : नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा सिएनआईमा आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता सङ्कटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रको सुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्नु तर्कसङ्गत नभएको बताएको सचिवालयले जनाएको छ । नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलङ्काको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको सो अवसरमा सिएनआईको कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।

त्यस्तै नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलङ्काको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलङ्काको १११.४२ प्रतिशत रहेको, कूल वैदेशिक मुद्रा सञ्चितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलङ्काको १.९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख थियो ।

त्यस्तै अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलङ्काको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको थियो ।