२०८२ जेठ ३२ शनिवार

राशिफल

आजदेखि पर्सा राष्ट्रिय निकुञ्जमा गौरीगाईको गणना शुरु

काठमाडौं  : पर्सा राष्ट्रिय निकुञ्जमा गौरीगाई गणना शुरु भएको छ । निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत आइतबारदेखि ३ दिनका लागि गौरीगाईको गणना शुरु गरिएको हो ।

निकुञ्जको सम्पूर्ण भूभागलाई ७ वटा ब्लकमा छुट्याएर १ सय २० जना जनशक्तिलाई एकैसाथ खटाएर गणना शुरु गरिएको निकुञ्जले जनाएको छ । गौरीगाई गणनाका लागि ८ वटा हात्ती परिचालन गरिएको छ ।

जसमध्ये मध्ये ६ वटा पर्सा निकुञ्जको आफ्नै हो भने २ वटा चितवन राष्ट्रिय निकुञ्जवाट ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले जानकारी दिए ।

 

गणनाका लागि निकुञ्ज कार्यालय, हात्तीसार, प्रकृति संरक्षण कोष सहित ६० जना परिचालन गरिएको छ भने नेपाली सेनाको तर्फवाट थप ६० जना जनशक्ति परिचालन गरिएको भगतले जनाए । ‘

गौरीगाई गणनाकोे मुख्य उद्देश्य यसको संख्या थाहा पाउने नै हो, त्यसका बाबजुद गौरीगाईको बासस्थान क्षेत्र र गस्ती टोली पुग्न नसकेको निकुञ्ज भित्रको भूभागामा अन्य वन्यजन्तु, वनजंगलको अवस्थाबारे थाहा पाउन सकिन्छ भन्ने हो’ भगतले भने ।

गौरीगाई धेरै जाडोमा पनि गणना गर्न नसकिने र धेरै गर्मीमा पनि समस्या हुने भएकोले वैशाखको पहिलो हप्तादेखि गणना शुरु गरिएको निकुञ्जले जनाएको छ । गौरीगाई गणना निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत भएपनि जनशक्ति अभावले ३ देखि ४ वर्षको अन्तरालमा गणना हुने गर्दछ । यसअघि २०७३ सालमा भएको गणनामा पर्सा निकुञ्जमा १ सय ५ ओटा गौरीगाई भेटिएका थिए ।