२०८२ जेठ २९ बुधबार

राशिफल

अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिवलमा छनोट

काठमाण्डौं : महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारी सम्बन्धी नेपालको अभियानः वर्जित मान्यतासँग सामना’ जर्मनीमा आगामी १–३ जुलाईमा हुने १८ औं अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ ।

यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्र्तराष्ट्रिय मल्टिमिडिया जर्नालिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका छन् । यो डकुमेन्ट्रीकी प्रस्तोता नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत छिन् ।

डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको हो । यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरुले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ ।

पछिल्लो समयमा सरोकारवाला निकायहरुले महिनावारीमा वर्जित सामाजिक मान्यताहरु परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन् । जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरू कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ ।

विद्यालय पाठ्यक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ । महिलामा आउने शारीरिक परिवर्तनमध्येको एक परिवर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा विस्तारै आउँदै गरेका परिवर्तनबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरुले छाउगोठमा बस्नुपर्ने बाध्यता छ । समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्ध भन्दै थुप्रै बन्देज एवं निषेध गर्ने व्यवहारहरु हुने गरेका छन् । यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो ।

यो डकुमेन्ट्री यसअघि टोरोन्टो इन्टरनेशनल वुमन्स फिल्म फेस्टिभल, २०२२ र डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिभल, २०२२ मा पनि छनोट भएको छ ।