२०८२ जेठ ३१ शुक्रबार

राशिफल

नयाँ काम र सुधार खोज्दा शङ्काको दृष्टिले हेरियो : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डौ :  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले केही नयाँ काम र सुधार गर्न खोज्दा शङ्काको दृष्टिले हेरेको गुनासो  गरेका छन  ।

निर्वाचन आयोगले चुनावबारे सञ्चारमाध्यमसँग गरेको अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले यसअघि देखिएका केही समस्यालाई सुधार गर्नेगरी काम गर्दा आफ्नो स्वार्थ अनुसार समर्थन र विरोध गर्ने गलत अभ्यास भएको टिप्पणी  गरे ।

मतपत्रको रङ्गबारेमा एमालेले गरेको विरोधतर्फ लक्षित गर्दै उहाँले बदलिँदो परिवेश अनुसार भएका सुधारलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए । उहाँले चुनावमा तालमेल गरेर उम्मेदवारी दिँदा महिलाको उम्मेदवारीलाई ख्याल गर्न दलहरुसँग आग्रह पनि गरेका छन ।

यस्तै पछिल्लो समय सिद्धान्त भन्दा पैसाले चुनावलाई प्रभाव पार्न थालेको गुनासो आएको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले तोकेको खर्च सीमालाई ख्याल गर्न ध्यानाकर्षण गराएको छ ।

उनले निर्वाचन आचारसंहिता पालना गर्न पनि राजनीतिक दल लगायत सरोकारवाला सबैलाई आग्रह गरे । आचारसंहिता कार्यान्वयन गर्न र चुनावी चहलपहल बढाउन सञ्चारमाध्यमको ठूलो भूमिका रहेको भन्दै उहाँले त्यहीअनुसार भूमिका खेल्न पनि अनुरोध गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले अहिले पत्रकार र सञ्चारमाध्यमले तटस्थता देखाउने बेला रहेको बताए । उनले निष्पक्ष चुनावका लागि दबाब सिर्जनाका साथै डरत्रास विना मताधिकारको प्रयोग गर्न नागरिकलाई प्रेरित गर्न भूमिका खेल्नुपर्ने धारणा राखे ।