काठमाडौं : सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा पशुपतिनाथ मन्दिर छेउमा रहेको सानो कुटीमा बाँदरबाट मानिसहरुले आशीर्वाद लिइरहेको देखिन्छ ।
फलामको पिंजडामा थुनिएको बाँदरलाई त्यसको हेरचाह गर्नेले ‘पवन’ नाम दिएका छन् । त्यहाँ जाने सर्वसाधारणले ‘पवन’को ‘आशीर्वाद’ लिइरहेका छन् । बाँदरलाई पवन अर्थात् देवताको रुपमा लिइरहेका छन् ।
मंगलबार बाँदर राखिएको पशुपतिनाथ मन्दिर छेउमा पुग्दा त्यहाँ बादर हेर्न आउने र आशीर्वाद लिनेको भीड थियो । हरेकले हातमा मोबाइल बोकेका छन् । हरेक मोबाइलको क्यामेरा खुला छ । कसैले फोटो खिचिरहेका छन् । कसैले भिडियो बनाइरहेका छन् ।
बाँदर हेर्न साना बालबालिकादेखि अधवैंसेसम्म छन् । त्यहाँ पुग्ने उनीहरुको एउटै चाहना हुन्छ, बाँदरको आशीर्वाद लिने र भिडियो बनाउने ।
बाँदरको आशीर्वाद लिन बिहान सात बजेदेखि ११ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्मको समयतालिका निर्धारण गरिएको छ । बाँदर थुन्नेहरुले समयतालिका नै टाँसेका छन् । तर बाँदर हेर्ने र आशीर्वाद लिन चाहनेहरुलाई भने समयतालिकाले कुनै असर गर्दैन । बिहानदेखि साँझसम्मै त्यहाँ भीड जम्मा हुन्छ ।
पशुपति मन्दिर छेउमा रहेको भीरमा सानो कटेरो छ । त्यहाँ फलामको तारजाली लगाएर बाँदरलाई राखिएको छ । बाँदर थुन्नेहरुले सहयोगका लागि भन्दै दुईवटा सहयोग बाकस राखिएको छ । जसमा त्यहाँ आउने सर्वसाधारणले आफुखुसी पैसा राखिदिन्छन् ।
बाँदरको आशीर्वाद लिनेहरु लाइनमा बस्छन् र फलामको डण्डीमाथि चढेर पालैपालो बाँदरका अगाडि टाउको राख्छन् । बाँदर कहिले पिंजडाको वल्लो छेउ पुग्छ त, कहिले पल्लो छेउ । कसैको टाउकोमा हात नराख्दा, कसैलाई नमुसार्दा, नझम्टिंदा त्यसको रेखदेख गर्नेले ‘पवन’लाई आशीर्वाद लिन मन नलागेको भन्छन् ।
हामी त्यहाँ पुग्दा बाँदर थकाइ मार्न पल्टिरहेको थियो । कुटीमा बस्ने एक जनाले बाँदरलाई सुम्सुम्याइरहेका थिए । करिब २० मिनेटसम्म सुम्सुम्याएपनि बाँदर उठेन, बरु अर्कोपट्टि फर्कियो । धेरैले सुमसुम्याए बाँदर धेरै सुत्ने भन्दै छिटो उठाउन आग्रह गरिरहेका थिए ।
‘आशीर्वाद दिन मन नलागे सुत्छ, कसरी उठाउनु । यो त साक्षात्कार पवन सूत्र हो यसले त को धर्मात्माको कस्तो मान्छे भनेर चिन्छ,’ रेखदेख गर्ने व्यक्ति भन्दैथिए ।
बाँदर धेरै समयसम्म नउठेपछि त्यहाँ भएकाहरुले उठाउन आग्रह गरिरहँदा उनी आफैं बोलाउनुस् भनेर भनिरहेका थिए । कसैको स्वर मनपरे बाँदर आफैं उठ्ने उनले बताए ।
हामी गएको केहीबेरपछि बाँदर उठ्यो । सबैले मोबाइल ठड्याए । कोही भिडियो बनाउन थाले भने कोही फोटो खिच्न ।
मंगलबार मोरङ उर्लाबारीका कृष्ण पनि बाँदरको आशीर्वाद लिन भन्दै पशुपति पुगे । कामको सिलसिलामा काठमाडौं आएका उनी दर्शन गर्न भन्दै त्यहाँ पुगेका थिए ।
‘बाँदरले आशीर्वाद दिएको भिडियो देखेर आएको हुँ,’ कृष्ण भन्छन्, ‘आशीर्वादले केही पाइएला भनेर आएको त होइन तैपनि मनले मानेन ।’
तर उनी २०(२५ मिनेटसम्म पनि बाँदर नउठेपछि त्यहाँबाट फर्के । हतार हुनेहरु सुतेकै भएपनि छोएर फकिन्छन् भने अरु बाँदर उठ्दासम्म नै पर्खिन्छन् ।
केही समयपछि बाँदर उठ्यो र यताउति गर्न थाल्यो । पालैपालो मानिसहरु फलामको डण्डीमा टाउको राखेर आशीर्वादका पर्खिरहे । बाँदरले कहिले उनीहरुको टाउकोमा हात राख्छ भने कहिले हातखुट्टा दुवै राख्छ ।
बेलाबेला बाँदर रिसाउँछ । उसको अनुहारमा रिस झल्किन्छ । उ दाह्रा देखाउँछ । कहिले कसैलाई झम्टेजस्तो गर्छ । कसैले टाउको दिंदा कपाल तान्छ । तैपनि सर्वसाधारण उसलाई छाड्दैनन् ।
अहिले भाइरल भइरहेको बाँदर पशुपतिमा भर्खर ल्याइएको भने होइन । यो बाँदर १३ वर्षदेखि त्यहीं छ । जसलाई एक बाबाले भारतबाट ल्याएका थिए । तर टिकटक बनाउनेहरुका कारण यो बाँदर अहिले भाइरल भएको हो ।
बाँदर भगवान हो र उसले आशीर्वाद दिन्छ भन्ने अन्धविश्वास बोकेर सर्वसाधारण त्यहाँसम्म पुगेका हुन् । एउटा निरीह र अवोध जनावरलाई पिंजडामा थुनेर बन्धक बनाइएको छ र उसको प्रकृतिमा रमाएर बाँच्न पाउने अधिकार खोसिएको छ ।
बाँदरबाट आशीर्वाद लिएको दृश्यले एकातिर समाजमा व्याप्त अन्धविश्वासलाई झल्काउँछ भने अर्कोतिर सामाजिक सञ्जालमा भाइरल हुने मोह देखाउँछ ।
तपाइँको प्रतिक्रीया