२०८२ जेठ २३ बिहीबार

राशिफल

कवि रीता अधिकारी ’ऋतु’को ‘सेल्फ पोट्रेट’ लोकार्पण

  • एनडीसी खबर२०७९ बैशाख १० शनिवार १९:०५:३१

काठमाण्डौं : कवि रीता अधिकारी ’ऋतु’ ले आफ्नो साहित्यिक लेखन यात्राको झण्डै तीन दशकपछि आफ्नो पहिलो कविता सङ्ग्रह ल्याएकी छन् । फुट्कर रूपमा कविता, गीत, गजल, मुक्तक, समालोचना आदि बिधामा कलम चलाउँदै आए तापनि कविता उनको मूल बिधा हो। ’ऋतु’ को कवितासङ्ग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा विमोचन भएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरेका हुन्।

कवि तथा साहित्यकार ’ऋतु’ ले ३ दशक लगाएर लेखिएका आफ्ना कविताहरूको कृति ल्याएकी हुन् । कृति विमोचनपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा रीतालाई सुनेको स्मरण गरे ।उनी समकालीन पोखरेली कवितामा एक उदीयमान र प्रतिभासम्पन्न कवि भएको धारण व्यक्त गरे ।

कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनसक्ने उनको गहन काव्यचेतको प्रंशसा गर्दै नेपाली काव्यफाँटमा उनको भरोसालाग्दो उपस्थितिको आफूलाई पूरा विश्वास रहेको विचार व्यक्त गरे ।

तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनु पर्ने बताउँदै सरल र सहज भाषाशैलीमा गहन काव्यचेत पस्किनु आफैँमा एक चुनौती रहेको धारणा व्यक्त गर्दै उक्त चुनौतीलाई कवि ऋतुले सहजगताका साथ निभाएको धारणा राखे।

कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो भन्न रूचाउने कवि श्रेष्ठले कवि ऋतुका कवितामा नचाहिँदो शब्द आडम्बर, अप्रितम बिम्ब नरहेको धारणा राखे । उनका कतिपय कविताले पाठकको ह्रदय र मष्तिस्क एकसाथ स्पर्श गर्नसक्ने बताए ।

अत्यन्त साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा सुन्दरतापूर्वक पस्कन सक्ने कविका रुपमा कवि ऋतुलाई तुलना गरे र नेपाली काव्य फाँटले यौट सुन्दर काव्यकृति प्राप्त गरेकोमा खुसी व्यक्त गरे र आउँदा दिनमा लेखकीय निरन्तरताको अपेक्षा पनि राखे, अझ बढी सशक्त र जिम्मेवारीपूर्वक ।

कार्यक्रममा स्रष्टा परिचय राख्दै साहित्यकार जीवन सागर भण्डारीले कवि ऋतुको विद्यार्थी जीवन, बैबाहिक सम्बन्ध, शैक्षिक- सामाजिक व्यक्तित्व र साहित्यिक संलग्नता आदि विविध आयामबाट उनलाई चिनाए । स्याङजामा जन्मेर, लमजुङ बिहे गरेर अहिले परिवारसहित पोखरा बस्दै आएकी उनका छोराछोरी र अधिकांश आफन्तजन बिदेश छन् ।

श्रीमान् डा ईश्वरमणि अधिकारी आफैमा एक प्रसिद्द साहित्यकार र मूलतः कवि तथा गजलकार हुन् र उनीहरूको साहित्यिक जोडी आफैमा एक सुन्दर कविता जस्तै छ भन्दै दुबै र अझ परिवारका अधिकांश सदस्यका निकटमा रहेका साहित्यकार भण्डारीले उनको परिचय गराउँदा कार्यक्रमको माहौल नै अर्कै बनेको थियो ।

कृतिमाथि बोल्दै गर्दा कवि तथा साहित्यकार सरस्वती प्रतीक्षाले पोखराले गर्व गर्न लायक कविता कृति नेपाली काव्यफाँटमा सुम्पन लागेको बताउँदै आफू सेल्फ पोट्रेटको समीक्षा भन्दा पनि कविता पढिसकेपछि सेल्फ पोट्रेटको सेलिब्रेसनमा उपस्थित भएको बताइन् ।

अधिकांश कविताले नारीमाथिका बिभेद, लैङ्गिक असामानता र विभेद का पर्खाल हरूका बिरुद्द दरो गरी उभिएकोमा खुसी र प्रसन्नता व्यक्त गरिन् । सेल्फ पोट्रेटबाट भाले शंख उद्घृत गर्दै बोलिन्, ”

सत्तामा जो पुगे पनि

किन बजिरहन्छ

खालि भाले शंख

 

उखुबारीहरूमा

निर्मलाहरू चिच्याइरहँदा

शीतलनिवास किन ब्युँझदैन ?

 

के सत्ता पुलिङ्गी हो ? ”

उनले कवितामा रहेको शक्ति र सौन्दर्यको चर्चा गर्दै कविलाई एक साथ बिद्रोह र प्रेम व्यक्त गर्न सक्षम कविका रूपमा अर्थ्याइन् ।

शुभेक्छा राख्ने क्रममा कविका समकालीन साहित्यकार दीपक समीपले कवि ऋतु शब्द फारू गरेर कविताको बनोट र बुनोट दुबेलाई उत्तिकै महत्व दिएर सुन्दर र शक्तिशाली कविता लेख्ने कवि भएको धारणा राख्दै पोखराबाटै यस्तो कृति लोकार्पण समारोहमा साक्षी बस्न पाएकोमा खुसी व्यक्त गरे ।

उक्त अवसरमा प्राज्ञ तथा लोक गायिका हरिदेवी कोइरालाले भुईमान्छेहरूका आवाज सँगालेर लेख्ने ऋतु जीवन र जगत् लाई टपक्कै टिपेर सुन्दर कविता रचना गर्ने कवि भएको बताइन् । अर्का बक्ता प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले आफूले आफ्ना बारेमा लेख्नु या आफ्नै चित्र कोर्नु जस्तो जोखिम र आनन्द अरू नभएको बताउँदै त्यस्तै जोखिमको बाटो सफलता र सजगताका साथ तय गरेकोमा कवि ऋतु जस्लाई उनी बुहारी भन्न रूचाउँछन्, उनलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कृतिबाट १/१ कविता साहित्यकारहरू सञ्जीव पौडेल र सरस्वती श्रेष्ठ सरूले वाचन गरेका थिए भने संस्थाका उपाध्यक्ष उपेन्द्र पौडेल, सह सचिव शिव त्रिपाठी तथा स्रष्टा रीता अधिकारी ऋतुले समेत बोलेका थिए ।

पोखरेलीयुवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल को अध्यक्षता मा सम्पन्न उक्त लोकार्पण समारोह ले लोकार्पित गरेको सेल्फ पोट्रेटमा लामाछोटा गरी जम्मा ४१ वटा कविता रहेका छन् । प्राज्ञ रमेश श्रेष्ठको सुन्दर आवरणमा हार्ड कवरमा छापिएको उक्त कृतिको मूल्य रू ३९९ राखिएको छ भने यस्को प्रकाशन व्यवस्था कङ्गारु एजकेशन फाउन्डेशन, पोखराको रहेको छ ।

 अन्तिममा सेल्फ पोट्रेट बाटै एउटा छोटो कविता …

उसका कुरा–१

ऊ भन्छे–
लोग्नेमान्छे भनेका
यस्तै त हुन्छन् नि

अहँ,
त्यस्तो होइन

त्यसो भन्नु र भनिरहनु
पुरुषलाई
जे गर्न पनि छुट दिनु हो

जे पनि गर्ने छुट
कसैलाई पनि हुँदैन