काठमाण्डौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटका लागि दलहरूको बैठक केही दिन देखि निरन्तररुपमा जारी रहेको छ । बैठक अझैसम्म जारी नै रहेकाले उम्मेदवारी छनोट अहिलेसम्म पनि हुन सकेको छैन ।
नेपाली काँग्रेससँग अन्य गठबन्धन दलको तालमेल हुन नसक्दा काँग्रेस इतरका दलहरूको बैठक अझैसम्म पनि जारी नै छ । माओवादी, जसपा र एकीकृत समाजवादीको संंयुक्त बैठक जारी नै रहेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरियाले जानकारी दिए ।
मधेस प्रदेशमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उम्मेदवारको नाम टुङ्ग्याउनका लागि बैठक बसेका छन् ।
काँग्रेसले मधेस प्रदेशका अधिकांश स्थानीय तहमा उम्मेदवारी दिने जनाएका छन् । मधेस प्रदेशबाट सिरहा र सर्लाही पार्टी कार्यालयले नाम सिफारिस गरेर पठाए पनि यसको टुङ्गो भने लगाउन बाँकी रहेको काँग्रेस मधेस प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवले जानकारी दिए ।
उनले अन्य जिल्लाहरूबाट पनि उम्मेदवारको नामावली पठाउने क्रम जारी रहेको बताउँदै उनले बेलुकासम्म बैठक बसेर टुङ्गो लगाउने बताए ।
यता नेपाली काँग्रेससँग अधिकांश स्थानीय तहमा गठबन्धन हुने छाटकाट नदेखिएपछि जसपा, माओवादी, एकीकृत समाजवादी भने गठबन्धन गरेर अधिकांश पालिकामा उम्मेदवारी दिने भएका छन् ।
यसका लागि निरन्तररुपमा तीन दलको संयुक्त बैठक जारी रहेको छ । टुङ्गो नलागे पनि सहमतिका लागि निरन्तर छलफल बहस र बैठकहरू जारी नै छ ।
तपाइँको प्रतिक्रीया