काठमाण्डौ : कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८र७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न पालिकाका छ वडा उच्च जोखिममा छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका ठाउँमा पर्दछन् । मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ५, चङ्खेली गाउँपालिका–२, सर्केगाड गाउँपालिका–२, ताजाकोट गाउँपालिका–२, सुर्खेतको भेरीगङ्गा नगरपालिका–७, वीरेन्द्रनगर नगरपालिका–१०, गुर्भाकोट नगरपालिका–१३, लेकबेसी नगरपालिका–७ र १०, पञ्चपुरी नगरपालिका–९ रहेका छन् ।
कर्णालीमा प्रायजसो भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन् । हुम्लामा पाँच, मुगुमा छ, कालीकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन् ।
मानिसको शरीरमा प्रवेश गरेपछि कलेजो र राता रक्तकोषमा विकास भइ हुर्किएका परजीवि रगतको माध्यमबाट शरीरभरि फैलिएर विभिन्न लक्षण देखा पर्दछन् । औलो रोगका परजीवि भएको लामखुट्टेको टोकाइ भएको १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नी दुख्नेजस्ता लक्षणहरु देखा पर्दछन् ।
निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्षित गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए ।
तपाइँको प्रतिक्रीया