२०८२ जेठ २१ मङ्गलबार

राशिफल

काभ्रेपलाञ्चोकमा विभिन्न पार्टी तथा स्वतन्त्रबाट २ हजार ७७३ जनाले मनोनयन दर्ता

काठमाडौं  :  यही वैशाख ३० गते हुने पालिका तह चुनावका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी २ हजार ७७३ जनाले मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमाले एक्लैले स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने गठबन्धनबाट स्थानीय तहमा भागबण्डा गरी मनोनयन दर्ता गरिएको छ । वडामा भने अनुकूलताका आधारमा गठबन्धन गरेको दलहरूले जनाएका छन् । बनेपा नगरपालिका प्रमुखमा १० तथा उपप्रमुखमा आठ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका प्रमुख पदमा ११–११ जनाले मनोनयन दर्ता गराएका छन् । बनेपाको उपप्रमुखमा तीन र मण्डनदेउपुरको उपप्रमुखमा चार जनाले मनोनयन दर्ता गराएका छन् । धुलिखेल नगरपालिका प्रमुखमा १० र उपप्रमुखमा ६, पाँचखाल नगरपालिका प्रमुखमा ६, उपप्रमुखमा पाँच र नमोबुद्ध नगरपालिका प्रमुखमा चार र उपप्रमुखमा तीन जनाले मनोनयन दर्ता गराएका छन् ।

कोशीपारिस्थित भुम्लु गाउँपालिका अध्यक्षमा आठ र डाँडापारिस्थित खानीखोला गाउँपालिका अध्यक्षमा सात जनाको मनोनयन दर्ता भएको छ । उपाध्यक्षमा चार–चार जनाले उम्मेदवारी दिएको छ । यस्तै रोशी, चौँरीदेउराली, तेमाल र बेथानचोक गाउँपालिका अध्यक्षमा पाँच–पाँच जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा चार–चार जना, बेथानचोकमा आठ र चौँरीदेउरालीमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । महाभारत गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षमा ६७०, सदस्यमा एक हजार ३७, महिला सदस्यमा ४८७ र दलित महिला सदस्यमा ४३० जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।