काठमाडौं : बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ ।यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि बाहिर आएको हो ।
बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरहगना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रुपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा उनीहरूको संलग्नता भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । उक्त घर योगेन्द्र अग्रहरीको हो । भारतीय नागरिकहरूले पसल राख्नका लागि भन्दै घर भाडामा लिएर डेकोरेसन लगायतको काम सुरु गरेका बेला सुन पसल चोरी भएको हो ।
उनका अनुसार रुपन्देहीको रानीबगियामा पनि केही समयअघि सुन पसल लुटपाटको प्रयास भएको थियो । त्यसक्रममा सुन लुट्न आएकाहरूले व्यवसायीलाई आक्रमण गरी घाइते बनाएको विश्वकर्माले बताए । रुपन्देहीकै बुद्धनगरमा पनि केही दिनअघि एक महिलाको सुन लुटिएको थियो ।
सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले पटकपटक सुनचाँदी व्यवसायी लुटिने क्रम बढेको र कुनै पनि घटनामा पीडितले न्याय नपाएको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले घटनामा संलग्नहरुको खोजी भइरहेको जानकारी दिए ।
तपाइँको प्रतिक्रीया