२०८२ जेठ २१ मङ्गलबार

राशिफल

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया जाँदै

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली आज मलेसिया जाँदैछ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन् मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने भ्रमणका लागि त्यस तर्फ जान लागेको हो ।

मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फैजलले शिष्टाचार भेटवार्ता गरेको छ । मन्त्री श्रेष्ठले मलेसिया भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुसालसहितको टोली आज दिउँसो मलेसिया जानु हुनेछ । भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डाबारे पनि छलफल हुने बताइएको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा पनि मन्त्री श्रेष्ठले छलफल गर्ने जनाएको छ ।