काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ ।
प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी हिजो बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गरे । उपकुलपति गिरीले २० शय्यासहितको डायलाइसिस युनिट सञ्चालनमा आएपश्चात् पूर्वी भेगका मिर्गौलाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पूर्वी नेपालको सबैभन्दा ठूलो र उत्कृष्ट अस्पतालका रुपमा रहेको प्रतिष्ठानमा यसअघि डायलाइसिस गर्ने मेसिनको कमी हुँदा बिरामीले सास्ती बेहोर्दै आएका थिए । बीस शय्यामा उपचार कक्ष सञ्चालनमा आएपछि बिरामीले सहजरुपमा सेवा पाउने अवस्था बनेको प्रतिष्ठानका प्रवक्ता चुरामणि पोखरेलको भनाइ छ ।
अहिले प्रतिष्ठानमा दैनिक करिब १२० बिरामीले नियमित डायलाइसिस गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रीया