२०८२ जेठ २३ बिहीबार

राशिफल

बागी उम्मेदवारहरू पार्टी सभापति देउवाप्रति आक्रोशित

काठमाडौं  :  नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोसित भएका छन । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र वीपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये जगन्नाथ पौडेल पनि एक हुन । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त तिलाञ्जली दिने नेतृत्वको प्रवृत्तिप्रति गतिलो झापड हुनेछ ।’

देउवाले उनलाई पटक पटक बागी उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई सम्झाइ बुझाइसहित आश्वासन दिन पौडेलकै घर चितवन पठाए । तर,  बागी उम्मेदवारी फिर्ता लिएनन् । नलिएपछि उनलाई शुक्रबार नै काँग्रेसले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको छ ।

देउवाप्रति आक्रोशित हुने अर्का बागी उम्मेदवार हुन्– विमल कार्की । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका कार्कीले देउवाले काँग्रेसीजनको भावनालाई कदर नगरेर गलत ढंगले निर्वाचनमा तालमेल गरेको बताएका छन् ।

शुक्रबार बिहान पनि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै फिर्ता लिन आग्रह गरेको थियो । धेरै ठाउँमा नलिए पनि प्रमुख दुई महानगरपालिकामा बागी उम्मेदवारी दिएका पौडेल र कार्कीले भने नलिएका हुन् ।