२०८२ जेठ २२ बुधबार

राशिफल

महोत्तरीमा हावाहुरीले विद्यालय तथा घरमा क्षति पुर्याउँदा १४ लाख भन्दा बढीको क्षति

काठमाडौं :  महोत्तरी जिल्लाको विभिन्न पालिकामा गएराति आएको हावाहुरीले विद्यालय, पोल्ट्री फार्म तथा घरमा क्षति पुर्याएको छ । हावाहुरीले १४ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ मा रहेको कुलदीप निमाविको पूरै छाना उडाउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै त्यही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा पाँच लाख तथा सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।