काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् ।
गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई हिजो आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।
राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल गरेको थियो । यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेबीच तालमेलको प्रयास जारी छ । अध्यक्ष लिङ्देनले भने आफूहरु एक्लै चुनाव लडेर परिणाम दोहोर्याउने दाबी गरे ।
चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिलाई पेसाको रुपमा नभई सेवाको भावनाबाट विकास गर्न जरुरी रहेको बताए । भ्रष्टाचार गर्नेहरुलाई राप्रपामा स्थान नभएको बताउँदै उनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने चेतावनी दिए ।
तपाइँको प्रतिक्रीया