काठमाडौं : गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका तिनै जनाको परिचय खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका १४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका १६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए ।
सिरानचोक गाउँपालिका ५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा १४ च ७८१ नं को स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको खुलेको छ ।
चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया