काठमाडौं : रसिया र युक्रेन युद्धको असर नेपालबाट युरोप र अमेरिकामा हुने निर्यातमा देखिन थालेको व्यवसायीहरुले बताएका छन् । दुई महिनादेखि जारी युद्धका कारण चैत, वैशाख र जेठमा महिनामा हुने वस्तुको अर्डर प्रभावित भएको नेपाल निर्यात व्यवसायी महासंघले जनाएको छ ।
हरेक वर्ष बढ्दो क्रममा रहेको निर्यातपूर्वको अर्डर यसपटक रुस युक्रेन युद्धको छायाँमा परेको महासंघका उपाध्यक्ष दुर्गा बिक्रम थापाले बताए । रुस र युक्रेन युद्धका कारण नेपाली वस्तु निर्यात हुने युरोप र अमेरिकी बजारका वस्तुको उपभोग दर कम हुँदा अर्डर घटेको थापाले बताए ।
महासंघकाअनुसार नेपालबाट युरोप र अमेरिकामा वाषिर्क ५० अर्ब हाराहारीको गार्मेन्ट, पस्मिना, फेल्ट, हृयाण्डिक्राफ्ट, काठ र हस्तकलाका सामानहरु तथा हाते कागज निर्यात हुन्छ । वस्तु अर्डर हुने सिजनमै देखिएको मन्दीले व्यवसायीहरु चिन्तित बनेको उनले बताए ।
कोभिडपछि महँगीको माल वस्तु उत्पादन पुनः रसिया युक्रेन युद्धबाट प्रभावित हुने देखिएको निर्यात परिषद्का प्रथम उपाध्यक्ष नरेशलाल श्रेष्ठले बताए । युरोपका दुई ठूला मुलुकको युद्धका कारण युरोपमा हुने निर्यात २५ देखि ५० प्रतिशतसम्मले प्रभावित हुने देखिएको श्रेष्ठले बताए ।
तपाइँको प्रतिक्रीया