काठमाडौं : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा साढे २ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन्।
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ४० म्यादी प्रहरी, ६ सय २५ नेपाल प्रहरी र ३ सय ४० सशस्त्र प्रहरी परिचालन गरिएको छ। यसैगरी बाहिरी घेरामा सुरक्षा दिन नेपाली सेनासमेत परिचालन गरिएको जनाइएको छ।
म्यादी प्रहरी र नेपाल प्रहरीलाई मतदान केन्द्रसम्म परिचालन गरिएको छ। प्रत्येक स्थानीय तहमा प्रहरी र सशस्त्र प्रहरीले पेट्रोलिङ गस्ती समेत गरिरहेको छ।
निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिएको छ।
बैतडीमा १ सय २९ ओटा मतदानस्थल र २ सय ५ ओटा मतदान केन्द्र रहेका छन्। यीमध्ये सुरक्षाको दृष्टिकोणले ३१ ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेका छन्।
तपाइँको प्रतिक्रीया