काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८०को बजेटमा साधाराण चालु खर्च कटौती गर्ने भएको छ । यसका लागि सबैजसो मन्त्रालयलाई खर्च कटौतीका लागि तयार रहन अर्थ मन्त्रालयले भनेको छ । यसले मन्त्रालयहरुभित्र असन्तुष्टिको स्वर सुनिन थालेको छ ।
आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेटका लागि मन्त्रालय र निकायगत छलफलहरुमा अर्थ मन्त्रालयले चालु खर्च कटौतीलाई प्राथमिकतामा राखिने जानकरी गराएको हो । त्यसैअनुसार धेरै चालु खर्चका शीर्षकहरुको सीमा गत चालु आर्थिक वर्षकोभन्दा करिब २० प्रतिशतसम्म कम हुनसक्ने सरकारी अधिकारीहरुको आकलन छ ।
सरकारले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको छ । सरकारको विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै ३० चैतको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो ।
सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट चालुतर्फ विनियोजन गरेको थियो । त्यसमध्ये ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ संघीय सरकारका लागि चालु खर्च कार्यक्रम र शीर्षकहरुमा विनियोजन भएको छ । यही संघीय सरकारको चालुतर्फको खर्च कटौतीका लागि मन्त्रालयले तयारी गरेको हो ।
चालु खर्च घटाउन मन्त्रालयहरुलाई नै बाध्य गर्ने गरी अर्थले तयारी गरेको हो । इन्धन, मसलन्द स्टेसनरी, अन्य तथा विविध शीर्षकमा राखिने ठूलो रकम मनपरी ढंगले खर्च हुने गरेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले त्यस्ता शीर्षकको बजेटमा कटौतीको सुरु गर्ने तयारी गरेको छ ।
तपाइँको प्रतिक्रीया