२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अर्थतन्त्रमा अझै सुधारको आवश्यकता छ : पुर्वअर्थमन्त्री

काठमाडौं : हाम्रो अर्थतन्त्र संकटमा छ। र, पनि भविष्य अँध्यारो छैन। उज्यालो नै छ। धेरै सम्भावना छन्। हालै राष्ट्रिय तथ्यांक विभागले प्रतिवेदन जारी गर्‍यो। धेरै सूचकहरूमा सुधार देखिएको छ। प्रतिव्यक्ति आय बढेको छ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनका कारण सुधार देखिएको हो। यो आयोजना निर्माणका लागि म अर्थमन्त्री हुँदा पहल गरेको थिएँ।

नेपाली लगानीबाटै बनाउन सकिन्छ भनेर आयोजनामा आँट गरिएको थियो। सञ्चय कोष, नेपाल टेलिकमलगायतको साझा लगानीबाट सुरुवात भएको थियो। अपुग पैसा नेपाल सरकारले लगानी गर्ने प्रबन्ध मिलाइएको थियो। तामाकोसी सञ्चालनमा आएपछि विद्युत् आयातमा कटौती भएको छ।

उद्योगधन्दा, उत्पादनमा नेपालकै विद्युत् उपयोग भएको छ। तर यतिमै खुसी भइहाल्ने अवस्था छैन। अर्थतन्त्रमा अझै सुधारको आवश्यकता छ। व्यापार घाटा बढेको छ। आयात उस्तै छ। सरकारले केही वस्तुको आयात नियन्त्रण गर्ने प्रयास त गरेको छ। तर यतिले मात्रै पुग्ने अवस्था छैन। बजेट १६ खर्बको थियो।

व्यापार घाटा नै १७ र १८ खर्ब हुने अवस्था छ। ४२ प्रतिशत वैदेशिक ऋण छ। यो धेरै त होइन। तर बढ्दै गयो भने ऋण तिर्न नसक्ने अवस्था सिर्जना हुन सक्छ। यो हाम्रो लागि गम्भीर प्रश्न हो। नेतृत्वको लागि चुनौती पनि हो। आन्तरिक उत्पादन भएन भने आयातले देशलाई उभो लगाउँदैन। स्वदेशी उद्योगको देन कम छ। रेमिट्यान्सकै पैसाबाट भए पनि हामी धेरै खर्चिलो भएका छौं।

बजेटको बनाउने बेला भएको छ। त्यसकारण राष्ट्रिय नीति निर्माणमा ध्यान दिनुपर्छ। वितरणमुखी बजेट भएर मात्रै हुँदैन। उत्पादन नै नभए कसरी बाँड्ने रु आर्जन गर्नेतिर ध्यान जानुपर्छ। अबको युवा शक्ति स्वदेशमै बस्नुपर्छ। विदेशमा गएर देशलाई गाली गरेर मात्रै हुँदैन। अरूले हाम्रो देश बनाई दिँदैनन्। मेरो भूमिका के हो भन्नेतिर ध्यान दिनुपर्छ। देश बनाउने जिम्मेवारी युवाकै काँधमा छ। नयाँलाई नै जिम्मेवारी हस्तान्तरण हुनुपर्छ। अब देश निर्माणको जिम्मेवारी युवाले नै लिने हो।