२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इजाजत प्राप्त हातहतियार प्रहरीलाई दिनुपर्ने

काठमाडौं : स्थानीय प्रशासनको आह्वानपछि पनि जिल्लामा इजाजत लिएर हातहतियार राख्नेहरुमध्ये थोरैले मात्र आफ्नो हातहतियार प्रहरीलाई बुझाएका छन् ।

स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र विश्वसनीय बनाउनका लागि भनी इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले चैत १३ गते सूचना प्रकाशित गरी चैत मसान्तसम्मको समय हातहतियार धनीहरुलाई दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार सम्ममा ७७ वटा यस्ता हतियार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरुमा हतियार धनीहरुले बुझाएका छन् ।

‘निर्वाचनको समयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन तथा हातहतियारको दुरुपयोग नहोस् भनेर यसरी निर्वाचनको समयमा सर्वसाधारणसँग इजाजत प्राप्त हतियार माग्ने गरिन्छ,’ उनले भने, ‘निर्वाचन सक्किएपछि पुन हतियार धनीहरुलाई नै यस्ता हतियार फिर्ता दिने गरिन्छ ।’

उनले जिल्ला भरी ५ सय बढी इजाजत प्राप्त बन्दुक रहेकोमा थोरै संख्यामा मात्रै हतियार बुझाइएको बताए । यसरी इजाजत लिएर राखिने हतियारहरु स्वचालित तथा आधुनिक पेस्तोल नभई हर्नेट, सटगन जस्ता ठूला आकारका बन्दुक हुने गरेको उनले बताए ।

यस्ता बन्दुकको वर्षेनी जिल्ला प्रशासन कार्यालयबाट नविकरण गर्नु पर्ने प्रावधान रहेपनि हतियार धनीहरुले रुची नदेखाउँदा यसरी जिल्ला प्रशासन कार्यालयबाट इजाजत दिइएको हतियारको अद्यावधिक तथ्यांक हुने गरेको छैन ।