काठमाडौं : देशमा पहिलो कोरोना संक्रमणको घोषणा गर्दै उत्तर कोरियामा देशव्यापी रुपमा कडा लकडाउनको निर्देशन दिइएको छ । सरकारी मिडियाले यसबारे खबर गर्दै राजधानी प्योङयोङमा ओमिक्रोन प्रकोप फैलिएको जनाएको छ तर संक्रमण सङ्ख्या चाहिँ उल्लेख गरेको छैन ।
केसीएनएका अनुसार लिडर किम जोङ उनले कोरोना प्रकोप पूर्ण निर्मुल पार्ने प्रतिज्ञा गरेका छन् । क्वारेन्टिन लगायत सुरक्षाका कडा मापदण्ड अपनाउँदा समेत भित्रिएको कोरोना प्रकोप देशका लागि गम्भीर राष्ट्रिय आपतकालको अवस्था भएको पनि यसमा उल्लेख गरिएको छ ।
यता विश्वविद्हरुले चाहिँ उत्तर कोरियामा भाइरसको उपस्थिति धेरै अगाडिदेखि नै रहेको अुनमान गर्दै आएका छन् । गत वर्ष जुनमा किमले कोभिड सम्बन्धी गम्भीर अपराध पश्चात् केही अधिकारीहरुलाई कारबाही गरेको केसीएनएले रिपोर्ट गरेको थियो ।
यसपछि सेप्टेम्बरमा भएको राष्ट्रिय सैन्य परेडमा पनि सेनाहरु हजमत सुट र मास्क लगाएको अवस्थामा देखा परेका थिए । उत्तर कोरियाको सिमाना चीन र दक्षिण कोरियासँग जोडिएको छ र दुवै देशले तिव्र संक्रमणको सामना गरिसकेका छन् ।
यस्तोमा २ करोड ५० लाख जनसङ्ख्या रहेको उत्तर कोरियाका जनता कोभिड संक्रमणप्रति अति संवेदनशील रहेकामा अन्तर्राष्ट्रिय संगठनहरुले चिन्ता जनाएका छन् ।
यसले हालसम्म कुनै कोभिड विरुद्धको खोप कार्यक्रममा सहभागीता जनाएको छैन र बाहिरबाट सहयोगका रुपमा आएको खोप समेत भित्र्याउन नमान्दा समस्याले गम्भीर रुप लिन सक्नेबारे चिन्ता जनाइएको छ । यसैगरी त्यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थाबारे पनि विशेष चासो दिइएको छ ।
तपाइँको प्रतिक्रीया