२०८२ जेठ २७ सोमबार

राशिफल

गुलरियामा एक जना उम्मेदवारले विजय जुलुस निकालिरहेको , निर्वाचित नभएको नतिजा सार्वजनिक

काठमाडौं : बर्दियाको गुलरियामा एक जना उम्मेदवारले निर्वाचित भएको घोषणा पछि विजय जुलुस निकालिरहेको समयमा उनी निर्वाचित नभएको नतिजा सार्वजनिक भएको हो ।

निर्वाचन आयोगका कर्मचारीले गुलरिया नगरपालिका वडा नं ४ मा एमाले उम्मेदवार अजमेर अलि नाउ खुला सदस्यमा निर्वाचित भएको घोषणा गरेका थिए ।

नाउ आफ्ना समर्थक सहित विजय जुलुसमा सहभागी भइरहेको बेला पुनः परिणाम सच्याएर कांग्रेसका उम्मेदवार इस्राइल बेहना निर्वाचित भएको घोषणा गरिएको थियो । त्यसपछि एमाले कार्यकर्ताहरुको विजय जुलुस विरोधमा परिणत भएको थियो ।

मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले कम्प्युटरमा इन्ट्री गर्दा प्राविधिक त्रुटि भएकाले सच्याउनु परेको बताए । ‘थोरै कर्मचारी रात–दिन काममा खटिंदा डाटा रुजु गर्ने बेला तलमाथि हुन पुगेछ, कुँवरले भने ।

आयोग कर्मचारी स्रोतका अनुसार एमाले उम्मेदवार अजमेर अलि नाउले ११३८ मत पाएका थिए । कांग्रेसका इस्राइल बेहनाले ११०० मत पाएका थिए ।

तर इस्राइलले पाएको ४६ मत जोड्न भुलेपछि अजमेर अलि नाउलाई निर्वाचित भएको घोषणा गरिएको थियो । तर पछि रुजु गर्दा इस्राइलले पाएको मत ११४६ मत भयो । त्यसपछि अजमेर निर्वाचित भएको घोषणालाई सच्याएर इस्राइल निर्वाचित भएको घोषणा गरिएको थियो ।