२०८२ जेठ २७ सोमबार

राशिफल

स्थानीय तह निर्वाचन – ओखलढुंगामा ३ सय ८ जना उम्मेद्धारको जमानत जफत

स्वर्णिमा सुनुवार/ओखलढुंगा : ओखलढुंगामा ३ सय ८ जना उम्मेद्धारको जमानत जफत भएको छ। जिल्लामा स्थानीय तह निर्वाचनका लागी १२ सय ७९ जनाले उम्मेद्धारी दर्ता गराएकोमा ३ सय ८ जना उम्मेद्धारको जमानत जफत भएको हो।

स्थानीय तह निर्वाचनमा १० प्रतिशत मत नपुगेका उम्मेद्धारको धरौटी जमानत जफत गरिने नियम रहेको हुँदा जिल्लाका २४ दशमलव ०८ प्रतिशत उम्मेद्धारको जमानत जफत गरिएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ।

कार्यालयका अनुसार ८ स्थानीय तह रहेको जिल्लामा बागी उम्मेद्धार बाहेकका २४ प्रतिशत उम्मेद्धारको धरौटी जफत गरिएको हो । उम्मेद्धारले राखेको पुरा धरौटीको आधा धरौटी जमानत जफत गरिने भएको भएको छ ।

अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्धारको धरौटी जमानत जफत भएको छ । धरौटी जमानत जफत हुनेमा धेरै जसो साना दलका उम्मेद्धार रहेका छन ।

८ स्थानीय तहको निर्वाचनको विवरणलाई हेर्दा सिद्धिचरण नगरपालिकामा मेयर र उपमेयर, वडा अध्यक्ष, वडा सदस्य गरि जम्मा १ सय ९४ जना उम्मेद्धार रहेका मध्ये ५७ जना उम्मेद्धारको जमानत जफत भएको छ ।

यस्तै, खिजीदेम्बा गाउँपालिकामा १ सय ७६ जनाको उम्मेद्धारी रहेकोमा ३२ जना वडाध्यक्ष तथा वडा सदस्यहरुको जमानत जफत भएको छ ।

चम्पादेवी गाउँपालिकामा १ सय ६० जना उम्मेद्धार रहेका थिए भने १३ जनाको धरौटी जफत भएको छ ।

जिल्लाको चिशंखुगढी गाउँपालिकामा विभिन्न पार्टीका १ सय ४४ उम्मेद्धार रहेका थिए जसमा जमानत जफत हुनेमा १० जना उम्मेद्धार रहेका छन ।

मानेभञ्ज्याङ गाउँपालिकामा १ सय ६१ उम्मेद्धार रहेको थियो भने १२ जनाको धरौटी जफत भएको छ ।

मोलुङ गाउँपालिकाको १ सय ५१ उम्मेद्धार मध्ये १९ जना अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यको जमानत जफत भएको निर्वाचन आयोगको तथ्याङमा रहेको छ।

यता : जिल्लाको लिखु गाउँपालिकामा ६५ उम्मेद्धार मध्ये १८ जना उम्मेद्धारको जमानत जफत भएको छ ।

यता : सुनकोशी गाउँपालिकामा १ सय ३९ जना उम्मेद्धार रहेकोमा १५ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका प्रमुख प्रेमप्रसाद न्यौपानेले जानकारी दिएका छन्।