२०८२ जेठ ३२ शनिवार

राशिफल

सङ्खुवासभामा सुख्खा पहिरो जाँदा सडक बन्द

Mugling Sadak

काठमाडौं : सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथाङ्का जाने सडक एक महिनादेखि बन्द भएको छ । भोटखोला गाउँपालिकाको किमाथाङ्का जाने सडक बन्द हुँदा स्थानीय नागरिक मारमा परेका छन् ।

मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरो जाँदा खाँदबारी–किमाथाङ्का अन्तर्गतको कोसी–ल्हासा राजमार्ग बन्द भएको हो । समाटारमा सडकमाथिबाट लगातार रूपमा सुक्खा पहिरो झरिरहेको छ। सडकमाथिको भागको जमिन नै चिरिएकाले झन् डरमर्दो भएको स्थानीयले बताएका छन् ।

भोटखोला गाउँपालिका–४ मा रहेको वरुण नदीमा रहेको अस्थायी पुलसमेत बाढीले बगाएको छ।वरुण नदीको अस्थायी पुल बाढीले बगाएपछि गाडी त्यहाँभन्दा माथि जान नसकेको स्थानीय सुवास दर्जीले बताउनुभयो ।

हिउँदमा खाँदबारीदेखि ढुवानी गर्ने गाडीहरू भोटखोलाको च्याम्ताङसम्म पुग्थे । खाँदबारीदेखि भोटखोला आवातजावात गर्ने मुख्य सडक खण्ड नै बन्द भएपछि जनजीवन कष्टकर बनेको छ। सुक्खा पहिरोका कारण अहिले समाटारसम्म मात्रै यातायात सञ्चालनमा छ।

सुक्खा पहिरो गएको समाटारको दुवैतर्फ पहिरो पन्छाउन एक्स्काभेटर तयारी अवस्थामा राखिएको र काम भइरहेको उत्तरदक्षिण कोसी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले बताउनुभयो ।

उहाँले दुवैतर्फ एक्स्काभेटर र जनशक्ति तयारी अवस्थामा रहे पनि निरन्तर सुक्खा पहिरो झरिरहेकाले ढिला भएको बताउनुभयो । ‘सडकको माथिबाट नै जमिन चिरिएको छ। आज पहिरो पन्छायो फेरि राति पहिरो झरिहाल्छ। त्यसैले समस्या भइरहेको छ,’ प्रमुख रजकले भन्नुभयो ।