२०८२ असार २ सोमबार

राशिफल

अझै उठेन काठमाडौं महानगरको फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाको चाबहिल क्षेत्रमा बुधबार विहानै माइकिङ भयो, ‘कृपया फोहोर बोक्ने गाडी नआएसम्म घरभित्रको फोहोर बाहिर ननिकालिदिनुहोला ।’
चाबहिल क्षेत्रमा मात्रै होइन, काठमाडौं महानगरका साथै अन्य पालिकाले पनि फोहोर घरभित्रै राख्न अनुरोध गरिरहेका छन् ।

हुन त ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको पटक–पटकको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रुपमा व्यवस्थापन हुन नसकेको ४ महिनाभन्दा बढी भयो । सडक किनारमा फोहोर थुप्रिने र बेलाबेला व्यवस्थापन हुने गरेको थियो ।

सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि ११ जेठदेखि बञ्चरेडाँडाको नयाँ ल्यान्डफिल साइटमा फोहोर फाल्न थालियो । त्यहाँ पनि स्थानीयले जग्गा अधिग्रहण गर्नुपर्नेदेखि विभिन्न पूर्वाधार बनाउनुपर्ने माग गर्दै अवरोध गरे ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवालासँग छलफल गर्दै बञ्चरेडाँडामा फोहोर फाल्ने सहज वातावरण बनाउन प्रयत्न गरेकी थिइन् । स्थानीयबासीको जायज माग सम्बोधन गर्ने आश्वासन दिइन् । स्थानीय प्रशासनले पनि सुरक्षाकर्मी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्दै आएको थियो ।

तर १५ जेठदेखि फोहोर बोकेका गाडी सिसडोल र बञ्चरेडाँडा दुबैतिर जान सकेको छैन ।

कतिपयले यसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भ्रमणसँग जोड्ने गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका साह सपथ ग्रहण अगाडि नै १४ जेठमा ल्यान्डफिल साइटको अनुगमनमा पुगेका थिए ।