२०८२ असार १ आइतबार

राशिफल

सामाजिक सञ्जालबाट महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे पनि अनुसन्धान हुने : प्रहरी प्रमुख

काठमाडौं : नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उनले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बताएका हुन् ।

हालै पत्रकार कञ्चन न्यौपानेले आफूमाथि भएको मानसिक यातनाबारे एक लेख लेख्दै प्रहरीको साइबर ब्यूरोले जाहेरी दर्ता गर्न नमानेको बताएकी थिइन् । ब्यूरोले ‘तथ्य पुग्दैन’ भनेर फर्काइदिएको उनको गुनासो थियो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरीले जाहेरी लिन्न भन्नै नपाउने बताए । ‘कहिले काहीँ प्रहरीले जाहेरी लिएन भन्ने गुनासो आउँछ, साइबर ब्यूरोले जाहेरी लिएन भने माथिल्लो निकाय उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमार्फत पनि दिन सकिन्छ, अथवा जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिन्छ’, सिंहले भने, ‘अहिले प्रहरीलाई जाहेरी लिनै पर्ने बाध्यात्मक अवस्था छ, पक्राउ गर्ने नगर्ने भन्ने चाहीँ अनुसन्धानबाट टुंगिने विषय हो ।’

नेपाल प्रहरीको नेतृत्व गरेको एक महिना पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अरु आईजीपी जस्तो छुट्टै प्राथमिकता सार्वजनिक नगर्ने पनि बताए ।