काठमाडौं : गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमाले ले भन्दा झण्डै दुई लाख बढी मत ल्याएको दाबी गरेको छ।
वडाअध्यक्षमा प्राप्त मतलाई आधार मानेर कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो।
कांग्रेस अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमिति संयोजक प्रदीप पौडेलका अनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३८ लाख ८३ हजार १३८ मत पाएका छन्।
जुन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको भन्दा १ लाख ७५ हजार ७६ मतले बढी भएको उपसमितिले बिहीबार बत्तिसपुतलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस ३२९ स्थानमा विजयी भएको छ। वैशाख ३० मा सम्पन्न निर्वाचनमा कांग्रेस ७५२ मध्ये ३२९ स्थानीय तहको प्रमुख पदमा विजयी भएको छ।
जसमध्ये कांग्रेस १८८ गाउँपालिका अध्यक्ष र १४१ नगर प्रमुखमा विजयी भएको हो। संयोजक पौडेलका अनुसार कांग्रेसले कुल स्थानको झण्डै ४४ प्रतिशत प्रमुख पदमा जित हात पारेको छ। प्रतिवेदनअनुसार ७५२ स्थानमध्ये उपप्रमुख पदमा कांग्रेस ३०० स्थानमा विजयी भएको छ।
उपप्रमुख ११० र उपाध्यक्ष १९० गरी ३०० स्थानमा उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार विजयी भएका संयोजक पौडेलले जानकारी दिए।
उनले कार्यकारी पदमा १५ सय ४ मध्ये ६९२ स्थानमा कांग्रेसको उपस्थिति दर्ज भएको पनि बताए। जुन कुल स्थानको ४२ प्रतिशत हुन्छ।
तपाइँको प्रतिक्रीया