२०८२ असार ८ आइतबार

राशिफल

नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोज्ने आमाछोरा पक्राउ

काठमाडौं   : नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा कपिलवस्तुमा २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा छोराको नागरिकता बनाउन आफ्नो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा आमाछोरा पक्राउ परेका हुन् ।

शुद्धोधन गाउँपालिका–५ की अबराईन खातुनले आफ्ना श्रीमान रियाजुद्दीन खान मुसलमानले बनाएको नक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालय नागरिकताका लागि बिहीबार कागजातहरु पेश गरेकी थिइन् ।

छानबिन र अनुसन्धान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिएपछि अबरईन र जाबेदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

रियाजुद्दीन खान मुसलमानको नागरिकता रुपन्देहीबाट जारी गरिएको नक्कली नागरिकता प्रमाणपत्रमा देखाइएको छ । सहायक प्रजिअ पौडेलले रियाजुद्दीनको नागरिकताको विवरण रुपन्देही प्रशासन कार्यालयसँग माग गर्दा सो नामको कुनै नागरिकता नभेटिएको र हेर्दा नै नक्कली नागरिकताजस्तो देखिएको, रुपन्देहीमा कुनै विवरण समेत नरहेको र लोगो समेत नक्कली भेटिएको बताए ।

२०६१ सालमा अबराईनले विवाह गरेको प्रमाणपत्र पेश गरेकोमा उनले २०६३ सालमा आफू अविवाहित भनेर नागरिकताको प्रमाण लिएको भेटिएको पौडेलले बताए ।